स्वागतम
शमी साहित्य प्रतिष्ठानको पृष्ठभूमि
यस प्रतिष्ठानको मूल उद्देश्य नै नेपाली वाङ्मयको उत्थान र विकास गर्ने रहेको छ । नेपाली साहित्यका दीर्घ एवम् अथक साधक भएर पनि मूलप्रवाहबाट ओझेलमा परेका वाङ्मयसेवीहरुको पहिचान गरी कदर गर्दै जाने अभीष्टले शमी साहित्य प्रतिष्ठानको Shami Literary Academy को स्थापना भएको हो ।
यस पवित्र उद्देश्यलाई पूरा गर्ने क्रममा प्रतिष्ठानको विधिवत् दर्ता हुन अगाडिदेखि नै विभिन्न चरणमा कार्यहरु हँदै आएका छन् । वि.सं. २०६२ फागुन १८ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा पुस्तकालय स्थापनाका लागि महाकवि देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई रु. ५० हजार नगदराशि सहयोग प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले गर्नु भयो । दोश्रो चरणमा नेपाली वाङ्मयका अथक साधकहरु सर्वश्री मोहन कोइराला, कृष्णचन्द्रसिँंह प्रधान र मदनमणि दीक्षितलाई सम्मान गरी अक्सफोर्ड इन्टरनेशनल पव्लिकेशन प्रा.लि. को स्थापना भएको थियो । पब्लिकेशनको स्थापनाको लगत्तै नेपाली साहित्य लगायत अन्य विविध विधाका पुस्तकहरुको प्रकाशन गर्ने कार्यको थालनी भयोे । यसरी पब्लिकेशन सन्चालनमा आएपछि आप्mनो व्यवसायिक दायित्वलाई पूरा गर्दै व्यवसायबाट प्राप्त मुनाफा तथा स्वआर्जनलाई असल काममा लगाउने भावनाले नेपाली वाङ्मयको विकासमा लागेर लामो समयदेखि साधनारत साधकहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले अक्सफोर्ड इन्टरनेशनल पव्लिकेशन प्रा.लि. अन्तर्गत वि.सं. २०६७ मा “शमी साहित्य साधना सम्मान” को स्थापना भएको थियो ।
अक्सफोर्ड इन्टरनेशनल पव्लिकेशन प्रा. लि. को सहयोगमा वि.सं. २०७१ असोज १ गते जिल्ला कार्यालय, काठमाडौँमा शमी साहित्य प्रतिष्ठान को विधिवत् दर्ता भएको हो । यस प्रतिष्ठान स्थापना हुनुमा एउटा अद्भुत घट्ना रहेको छ । यस प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्मा तथा संस्थापक सदस्य श्रीमती सुमित्रा महर्जन डङ्गोलका पुत्ररत्न शमी शम शर्माको जन्मसँग जोडिएको छ । चिकित्सा विज्ञानलाई समेत अचम्भित पार्दै स्वस्थरुपमा प्रथम जन्मउत्सव पार गरेको खुशीयालीलाई स्मरणीय बनाउनको लागि शमी साहित्य साधना सम्मान को स्थापना गरिएको हो ।





