बादलभित्रको घाम पुरस्कार दुई साहित्यकारलाई
काठमाडौं महानगरपालिका, अनामनगरस्थित शमी साहित्य प्रतिष्ठानको आयोजनामा आइतवार ‘बादलयभित्रको घाम नेपाली साहित्य पुरस्कार वितरण तथा संघीयताको सुदृढीकरणमा बौद्धिक वर्गको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको आतिथ्यमा प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न कार्यक्रममा दुई साहित्यकारले संयुक्त रूपमा सो रू. १ लाख ११ हजार १०० राशिको पुरस्कार पाए । २०७५ सालमा प्रकाशित कृतिमध्ये दामोदर पुडासैनी ‘किशोर’को कविता सङ्ग्रह ‘सहरविनाको सहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ले सो पुरस्कार पाएका हुन् । मन्त्री त्रिपाठी, प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल तथा संरक्षक डोलिन्द्रप्रसाद शर्मा लगायतले पुरस्कार राशिसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई उदयपुर सिमेन्ट प्रालि र बागलुङको चारतारे युवा क्लबले प्रायोजन गरेका थिए ।कार्यक्रममा ‘संघीयतामा बौद्धिक वर्गको भूमिका विषयक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका संरक्षक शर्माले साहित्यलाई समाज तथा राजनीतिसँग जोड्ने प्रयासका रूपमा कार्यक्रम गरिएको र समाज रूपान्तरणमा साहित्यको भूमिका खोज्ने क्रममा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।







