गरुप्रसाद मैनाली
Born: बि.सं. १९५७ साल भदौ, धनकुटा
Died: २०२८ साल, काठमाडौंको आर्यघाटमा
नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको हो भने मृत्यु २०२८ सालमा काठमाडौंको आर्यघाटमा भएको हो ।
न्याय विभाग अन्तर्गत निजामती कर्मचारीको हैसियतले विभिन्न स्थानमा जाने अवसर पाएका मैनालीले १९८६ देखि नै कथा लेख्न थालेपनि बि.सं. १९९२ सालमा शारदा पत्रिकामा प्रकाशित ‘नासो’ कथा मार्फत नेपाली साहित्य जगतमा जन्म लिएको पाइन्छ । आफ्नो जीवनकालमा जम्मा ११ वटा कथा लेखेका मैनालीले थोरै कथा लेखेर पनि नेपाली साहित्यमा आफ्नो विशिष्ठ पहिचान बनाउनुका साथै प्रथम आधुनिक कथाकारका रुपमा पनि आफूलाई परिचित गराएका छन् । उनको वि.सं. २०२६ सालमा प्रकाशित ‘नासो’ कथासंङ्ग्रहमा नासो, छिमेकी, प्रायश्चित, पापको परिणाम, बिदा, परालको आगो, सहिद, अभागी, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला गरी ११ वटा कथाहरु संग्रहित छन् । यिनको औपचारिक शिक्षा निजामती मध्यमा (११ पास) सम्म भएपनि अनौपचारिक शिक्षा हिन्दी, संस्कृत आदिबाट प्रशस्तै आर्जन गरेको पाइन्छ ।
मैनालीले अन्य केही विधा (प्रहसन, निबन्ध, कविता) मा हात हाले पनि मूलतः कथा विधाबाट नै नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याएको पाइन्छ । मैनालीका पुर्खा जोशी थिए । उनीहरु भारतको कुमारक्षेत्र नैनीताल स्थित मैनोरीबाट तेह्रौं शताब्दीतिर नेपाल आएका थिए । उनीहरूको विद्वताको कदरस्वरुप मल्ल राजाबाट उनीहरुले काभे्रको कानपुरमा विर्ता पाएका थिए । मेनोरीबाट आएका हुँदा सबैले उनलाई मैनाली भन्न थाले ।
कथाकार गुरुप्रसाद मैनाली आदर्शोन्मुख यथार्थवादी धारालाई भित्राउने पहिलो कथाकार हुन् । यिनलाई आधुनिक कथा क्षेत्रका अगुवा र लोकप्रिय कथाकार मानिन्छ । मैनालीले यर्थाथवादको पृष्ठभूमिमा रहेर नेपाली समाजका बिभिन्न पक्षहरुको चित्रण गरेका छन् ।
जागिरको सिलसिलामा देशका बिभिन्न स्थानको भ्रमण गर्ने अवसर पाएका मैनालीले आफ्ना कथाहरुमा समाजका निम्न मध्यम वर्गीय चरित्र र अवस्थालाई कलात्मक किसिमले प्रस्तुत गरेका छन् । शैलीमा नेपालीपन, गाउँले विषयवस्तुको गहन चित्रण, सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । पूर्वीय आदर्शवादी विचारधाराबाट प्रभावित मैनालीले तत्कालीन अवस्थाका रुढीवादी परम्परा, अन्धविश्वास, अन्याय, अत्याचार, जातीय तथा लैङ्गिक भेदभाव तथा शोषणका बिरुद्घमा कलम चलाएको पाइन्छ । त्यसैले यिनलाई सामाजिक यथार्थवादी कथाकार पनि भनिन्छ । आदर्शोन्मुखी, सामाजिक विषयको केन्द्रीयता, यथार्थवादी प्रवृति समेत मैनालीका कथामा पाइने मुख्य प्रवृति हुन् ।